काठमाडौं । रौतहटमा सवारी दुर्घटना हुँदा बुबा–छोरीको मृत्यु भएको छ । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत चन्द्रपुर नगरपालिका वडा नं. ४ पश्चिम लच्का नजिकै आइतबार बिहान कारले मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
हेटौँडाबाट चन्द्रनिगाहपुरतर्फ आउँदै गरेको बा ६ च ३५२६ नं. को कारले चन्द्रनिगाहपुरबाट निजगढतर्फ जाँदै गरेको ना ३ प ९५१२ नं.को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बुबा छोरीको मृत्यु भएको भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटले जनाएको छ ।
दुर्घटनामा परि रौतहट जिल्ला गरुडा नगरपालिका वडा नं. ३ मलाही टोल बस्ने ६० वर्षीय मोटरसाइकल चालक बलिराम सहनी तथा मोटरसाइकलमा पछाडि सवार उनको ४० वर्षीया छोरी उर्मिला देवी सहनीको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक राजकुमार राइले जानकारी दिए ।
बलिरामको चन्द्रनिगाहपुरस्थित हाइवे ट्रमा सेन्टर तथा उर्मिलाको एल एस न्यूरो हस्पिटल परवानीपुर, बारामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुवै सवारी साधन तथा कार चालक मकवानपुर जिल्ला हेटौँडा उपमहानगरपालिका वडा नं. १२ बस्ने कुमार पोखरेल इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरी नायब उपरीक्षक राइले जानकारी दिएका छन् ।







