सप्तरीका पाँच जना मिडियाकर्मीलाई समेत भ्रष्टाचार आरोप

जनता संवाददाता
२०८२ जेष्ठ २१ गते, बुधबार

सप्तरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका तत्कालीन प्रमुख प्रशासकीय अधिृकत, सह–लेखापालसहित ५ जना विरुद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचार सम्बन्धी आरोप पत्र दायर गरेको छ ।

पालिकाबाट विभिन्न समयमा प्रकाशित गरिएको टेण्डर र आशयपत्र सम्बन्धी विज्ञापनमा प्रकाशक र कर्मचारीको मिलोमतोमा भ्रष्टाचार भएको जनाउँदै अख्तियारले तिलाठी कोइलाडी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र कुमार यादव, सह–लेखापाल सत्रोहन दास, टाइम्स रिपब्लिक मिडिया प्रालि तिलाठी कोईलाडीका संस्थापक सदस्य भूषणकुमार सिंह, डच मिडिया प्रालि काठमाडौंका निर्देशक रवि अर्याल तथा प्रभाव राष्ट्रिय दैनिक प्रालिका प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की गरी ५ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

आर्थिक वर्ष २०७९÷०८० मा पालिकामा विभिन्न निर्माण कार्यका लागि ठेक्का नम्बर ३ र ६ बाट चारवटा ठेक्काको बोलपत्र आह्वान र खरिद आशयको सूचना सार्वजनिक खरिद ऐन, नियम बमोजिम राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्नेमा सो नगरी कर्मचारी र प्रकाशकको मिलोमतोमा गैरकानुनी लाभ तथा गाउँपालिकालाई हानि पु¥याउने गरी लुकाई छिपाई प्रकाशित गरेर भ्रष्टाचार गरिएको अख्तियारले दायर गरेको आरोपपत्रमा उल्लेख गरिएको छ ।

यसरी लुकाई छिपाई प्रकाशित गरिएको सूचना प्रेस काउन्सिल नेपालको रेकर्डमा कतै नभेटिएको तथा एकप्रति पत्रिका मात्र प्रकाशित गीि झुटा विल भरपाईमार्फत तीनलाख १६ हजार चारसय १० रुपियाँ भुक्तानी लिई भ्रष्टाचार गरेको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।

विवरण लुकाउने बदनिययतका साथ सार्वजनिक सार्वजनिक रुपमा सूचना प्रकाशित नै नगरेको मिडियाले भुक्तानी लिएको पुष्टि भएको हुँदा सो कार्यमा संलग्न प्रतिवादीहरुलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा १ बमोजिम कैद र विगो बमोजिम सजाय र जरिवाना हुनुपर्ने मागदावीसहित विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ २१ गते, बुधबार


Scroll to Top

Janata Media