मुगु । मुगुमा रारा छायाँनाथ यातायात प्रा.लि.का एसएमएल १० ओटा र बोलेरो जिप ३६ ओटा र बस १२ ओटा सञ्चालनमा छन् । एसएमएलको सिट क्षमता २६, बोलेरो जिप (बन्दको ९ ओटा र ढालावालाको ५ ओटा) र बसको ३५ ओटा छ । सडक पुरै कच्ची छ । यात्रा एकदमै दर्दनाक छ । सिट क्षमता अनुसार यात्रु हालेर बस सञ्चालन गर्नु नै समस्या छ । त्यसैमा सिट क्षमताभन्दा बढी यात्रु राखेर दिनहुँ रारा छायाँनाथ यातायात प्रा.लि.ले झन् यात्रुको जिन्दगीमाथि खेलवाड गरिरहेको छ ।
सोमबार मुगु सदरमुकाम गमगढीबाट सोरुका लागि छुटेको लु १ च ५४६६ नम्बरको रातो नम्बर प्लेटको व्यक्तिगत बोलेरो जिपले यात्रु बोकेर सोरु लियो । व्यक्तिगत सवारी भएपनि सार्वजनिक सवारी जसरी यात्रु बोकेको थियो । त्यहीपनि नौ जना यात्रु कोचाकोच गरेर बोकेको थियो । त्यो देख्ने बित्तिकै हामीले रारा छायाँनाथ यातायात प्रा.लि.का अध्यक्ष नवराज चौँलागाईंलाई हामीले सम्पर्क गर्यौँ । तर चौलागाईंले कुनै प्रतिक्रिया दिएनन् । उल्टै हामीले गराएको ध्यानाकर्षणको बेवास्ता गरे । उनी कुनै पनि जवाफ नभएपछि नजिकैको होटेलमा तनावमा बसिरहेका थिए ।
त्यसपछि जिल्ला प्रहरी कार्यालय, मुगुका प्रहरी निरिक्षक अच्युत आचार्यलाई सम्पर्क गर्यौँ । उनले ट्राफिक प्रहरीका असई खडक बहादुर रानालाई पठाए । प्रहरीको टोलि आयो । नगर प्रमुख विष्णु कुमार भामलाई जानकारी गराउँदा उनले पनि नगर प्रहरीलाई पठाए । सवारी धनि, काउन्टर स्टाफ, चालक र स्थानीयहरु यत्तिमा मात्रै रोकिएनन् । उनीले प्रहरी, नगर प्रहरी र ट्राफिक प्रहरीलाई उल्टै दबाबमा राखेर हामीलाई समेत हातपात गर्ने कोशिस गरे । यातायातका कर्मचारी भने कोही पनि देखिएनन् ।
ट्राफिक प्रहरीका असई रानाले आफुले यो गाडी रोक्न नसक्ने र कारबाही पनि गर्न नसक्ने हामीलाई बताए । उल्टै रानाले हामीलाई समेत हप्काएर उनी निस्किए । उनी सादा पोसाकमा आएका थिए ।
लु १ च ५४६६ नम्बरको रातो नम्बर प्लेटको व्यक्तिगत बोलेरो जिपका सवारी धनि नरेश शाही, अधिकांश काउन्टर स्टाफ र स्थानीयको हामीप्रति गरेको व्यवहारले मुगुको गरिमा र यात्रुको सुरक्षामाथि गम्भीर प्रश्न उब्जाएको छ । यो एउटा सवारी मात्रै होईन सबै सवारी दिनहुँ यसैगरी यात्रु बोकिरहेको यात्रुले बताएका छन् । यस प्रवृत्तिलाई तत्काल रोक्न नियम अनुसार सवारी सञ्चालन गर्नका लागि सम्बन्धित सरोकारवाला निकायको ध्यान जान आवश्यक छ ।







