नाक्चेलाग्ना नाका दुई साताका लागि खुल्ने, चिनको ह्याँजिमारमा हाटबजार लाग्ने

जनता संवाददाता
२०८२ श्रावण २२ गते, बिहीबार

मुगु । नेपाल–चीन सीमामा पर्ने मुगुको उत्तरी नाक्चेलाग्ना नाका मा दुई साताका लागि खुला गरिने भएको छ। कोरोना महामारी पछि बन्द रहेको सो नाका गत वर्ष झैँ यस वर्ष देखि साउन २५ गतेदेखि भदौ ७ गतेसम्म खोलिने जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ।

प्रमुख जिल्ला अधिकारी कमल प्रशाद पाण्डेका अनुसार चिन र मुगुम कार्मारोङ गाउँपालिका साझा सहमतिमा गृह मन्त्रालयको निर्देशनअनुसार चिनको स्वशासित क्षेत्र ह्यजिमारमा आयोजना हुने दुई पक्षीय व्यापार मेलाका लागि नाका खुला हुन लागेको हो । चिनियाँ क्षेत्रमा प्रवेशका लागि हालसम्म पाँच सय भन्दा बढी नागरिकले सीमा पास नयाँ तथा नवीकरण गराएको प्रजिअ पाण्डेले बताए।

नेपाल तर्फको नाकामा अवैध तथा आपराधिक गतिविधि नियन्त्रणका लागी नाका खुल्दा सुरक्षा अवस्थालाई ध्यानमा राखेर सशस्त्र प्रहरी र जनपथ प्रहरी परिचालन गरिएको पनि प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए ।

उक्त चिनको भूभाग ह्याँजिमारमा लाग्न लागेको व्यापारिक हाटबजारमा मुगुका स्थानीय बासिन्दा र छिमेकी जिल्ला जुम्ला तथा हुम्लाका नागरिकले आफूहरूलाई वर्षभरि चाहिने मैदा , चामल, नुन, तेल छुर्पी, घिउ, विद्युतीय सामाग्री, जस्तापाता, सिमेन्ट लगायतका निर्माण सामाग्री मिठाई, पेय पदार्थ, लत्ता कपडा, घरायसी सामग्री किनमेल गर्ने गर्दछन्। भने नेपाल बाट , जडीबुटी , यार्सा, काठका लौरी लगायतका सामाग्री, सन् फलफूल र तरकारीका भुजा, चिनियाँ व्यापारी पक्ष सँग सामानमै साट्ने तथा बेच्ने गर्दछन् ।

मुगुमकार्मारोङ गाउँपालिका–४ का स्थानीय पेमाजुङ लामाका अनुसार यो नाका वर्षको एक पटक मात्र खोलिने गरिन्छ। तर, उनले कम्तीमा छ महिनासम्म नाका खोलिनुपर्ने माग राखेका छन्। “नियमित हाटबजार सञ्चालन हुने हो भने रोजगारी पनि पाइन्छ,” उनले बताए ।

गाउँपालिकाका अध्यक्ष छिरिङ क्याफ्ने लामाका अनुसार तीन वर्षअघि नै चीनस्थित नेपाली दूतावास र परराष्ट्र मन्त्रालयलाई पत्राचार गरी छ महिना सम्म नाका खोल्ने प्रस्ताव गरेको स्मरण गराउँदै अझै सम्म पनि कुनै प्रतिक्रिया नआएको गुनासो पोखे ।

नेपालतर्फ सडक सुविधा नहुँदा स्थानीय र व्यापारीले घोडा, खच्चर र चौरीगाईको सहयोगमा सामान ओसार्ने गरेका छन्। सदरमुकाम गमगढीदेखि नाक्चेलाग्ना नाका जोड्ने ८७ किमी लामो सडक सन् २०६३ सालदेखि निर्माण सुरु भएको भए पनि हालसम्म १७ किलोमिटर मात्र ट्र्याक खोलिएको छ।

गाउँपालिका–१ का वडाध्यक्ष च्यावा लामाले दैनिक उपभोग्य सामग्रीको कारोबार गर्न नाका खुलेपछि निकै सहज हुने बताए । नाक्चेलाग्ना नाका मुगु जिल्लाको मुगुमकार्मारोङ गाउँपालिकामा पर्दछ र यसले तिब्बतको झोङ्बा काउन्टीस्थित नाइजु क्षेत्रसँग जोडिएको छ।

प्रकाशित मिति : २०८२ श्रावण २२ गते, बिहीबार


Scroll to Top

Janata Media