काठमाडौँ । आदिवासी जनजाति आयोगले हुम्लाकी टासी ल्हाजोम र उनको परिवारबारे सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भएका आधारहीन टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
आयोगले यस्ता टिप्पणीले व्यक्तिको आत्मसम्मान र समग्र आदिवासी जनजाति समुदायमाथि आघात पुग्ने भन्दै तत्काल रोक्न आग्रह गरेको छ।
आयोगका अध्यक्ष रामबहादुर थापामगरद्वारा जारी प्रेस विज्ञप्तिमा हिमाली क्षेत्रको आदिवासी समुदाय भएकै कारण टासीको वंशज र नागरिकतामाथि प्रश्न उठाउने प्रवृत्तिले सामाजिक सद्भाव र समुदायबीचको सु–सम्बन्ध बिगार्न सक्ने उल्लेख छ।
नेपालको संविधानको धारा १७ ले विचार र अभिव्यक्ति स्वतन्त्रताको हक दिए पनि यो अधिकार प्रयोग गर्दा राष्ट्रिय एकता र विभिन्न समुदायबीचको सम्बन्धमा असर नपर्ने गरी गर्नुपर्ने संविधानको मर्म रहेको आयोगले स्मरण गराएको छ।
आयोगले आधार र प्रमाणबिना व्यक्ति वा समुदायमाथि टिप्पणी गर्ने कार्यले मुलुकको हितमा नकारात्मक असर पार्ने भन्दै यस्ता गतिविधि तत्काल बन्द गर्न सम्बन्धित सबैलाई अपिल गरेको छ।
साथै, सामाजिक सद्भाव कायम राख्न राज्यका जिम्मेवार निकायलाई समयमै आवश्यक कदम चाल्न अनुरोध गरेको छ।
यो पनि पढ्नुहोस्ः
मन्त्री सिफारिस भएकी टासीबारे भ्रामक टिप्पणी ! वास्तविकता के हो ?
राष्ट्रियताको प्रश्न उठेपछि टासीको नागरिकता र वडाको सिफारिस सार्वजनिक







