पृथ्वीराजमार्ग पश्चिम खण्डः ७० प्रतिशत काम, यसै वर्ष सक्ने लक्ष्य

जनता संवाददाता
२०८३ कार्तिक १२ गते, बुधबार

काठमाडौं । गण्डकी प्रदेशलाई पूर्वी नेपाल र राजधानी काठमाडौँलाई जोड्ने सडकको स्वरूप फेरिएको छ । पाँच दशकअघि बनेको दुई लेनको पृथ्वीराजमार्ग अहिले स्तरोन्नति गरी सहरी क्षेत्रमा छ लेन र अन्यत्र चार लेनको बनाइएको हो ।

तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ दशमलव पाँच किलोमिटरलाई पूर्वी र जामुनेदेखि पोखरासम्मको ३८ दशमलव चार किलोमिटरलाई पश्चिम खण्डमा विभाजन गरी राजमार्ग स्तरोन्नति भएको छ ।

पूर्वी खण्डको काम सकिइसकेको छ भने पश्चिम खण्डमा सडक निर्माणका धेरै काम सकिएका छन् । यो खण्डमा सर्भिस लेन, फुटपाथ, रङरोगन आदि काम बाँकी छन् ।

मुग्लिन–पोखरा सडक आयोजना (पश्चिम खण्ड) का आयोजना प्रमुख कृष्णबहादुर कुँवर आयोजनाको समग्र भौतिक प्रगति ७० दशमलव आठ प्रतिशत पुगेको बताउँछन् । निर्माण कम्पनीको पछिल्लो म्याद आगामी मङ्सिर १० गते सकिँदै छ । तोकिएको म्यादभित्रै मुख्य काम सकिने आयोजना प्रमुख कुँवरको भनाइ छ ।

“पृथ्वीचोकका दुई सिग्नेचर पुल यो वर्षभित्र सकिने गतिमा छन् । सडक खण्ड पनि म्यादभित्रै सकिन्छ, केही सौन्दर्यकरणका काम बाँकी रहलान्,” आयोजना प्रमुख कुँवरले भने । विसं २०७८ जेठमा यो खण्डको ठेक्का सम्झौता भएको थियो ।

एसियाली विकास बैंक ९एडिबी०को ऋण सहयोगमा स्तरोन्नति भएको सडकको पश्चिम खण्ड निर्माणको जिम्मा चीनको यनहुइ काइयुन हाइवे एन्ड ब्रिज कम्पनीले पाएको छ । यो खण्डको लागत सात अर्ब ४० करोड ४६ लाख ८१ हजार रुपियाँ छ ।

पोखराको सेती पुलदेखि तल्लो गगनगौँडासम्म छ लेनको सडक बनेको छ भने पश्चिम खण्डमा अन्यत्र चार लेनको सडक छ । यो खण्डमा चार लेनको १८ मिटर चौडा १२ किलोमिटर, चार लेनको २३ मिटर चौडा सडक आठ दशमलव पाँच किलोमिटर र छ लेनको ४६ मिटर चौडा सडक १८ दशमलव तीन किलोमिटर बनेका छन् ।

यो खण्डमा चार ठूला र आठ साना पुल छन् । सेती नदीमा पृथ्वीचोकमा बन्ने दुई सिग्नेचर पुलबाहेक अरू पुल बनिसकेका छन् । पोखरा महानगरभित्र खानेपानीका पाइप र बिजुलीका पोल व्यवस्थापन तथा मापदण्डमा पर्ने संरचना हटाउन ढिलाइ हुँदा काम प्रभावित भएको थियो ।

सडक मापदण्डमा पर्ने कास्कीतर्फका ३७ वटा घरको क्षतिपूर्ति हालै निर्धारण भएको छ । तनहुँतर्फ अझै चार वटा घरको क्षतिपूर्ति निर्धारण हुन बाँकी छ ।

कास्की क्षेत्र नम्बर २ का सांसद उत्तमप्रसाद पौडेल पोखरा र गण्डकी प्रदेशको जीवनरेखा पृथ्वीराजमार्ग स्तरोन्नतिमा ढिलाइ हुन नहुने बताउँछन् । “आयोजनामा आएका अप्ठेरा हटाउन पनि हामी लागेका छौँ, कुनै पनि बहानामा थप ढिलाइ हुनु हुँदैन,” उनले भने ।

असारसम्म बन्नेछन् सिग्नेचर पुल

अहिले चार लेनको सडकको बीचमा दुई लेनको पुल हुँदा पृथ्वीचोकको चाइनापुलमा ट्राफिक जाम भइरहन्छ । अहिलेको पुलभन्दा उत्तर र दक्षिणतर्फ दुवैतिर डबल लेनका दुई सिग्नेचर पुल बन्दै छन् । अलग्गै ठेक्का लगाइएका यी पुलको निर्माण पनि यही आर्थिक वर्षभित्र सक्ने लक्ष्य छ ।

आयोजनाका इन्जिनियर अनन्त बराल उत्तरतर्फको पुल पुस दोस्रो सातासम्म सकिने बताउँछन् । दक्षिणतर्फको सिग्नेचर पुल भने असारभित्र सक्ने लक्ष्य लिइएको छ । “निर्माणका केही जनशक्ति चीनबाट झिकाउनुपर्ने भएकाले यो प्रक्रिया अघि बढाइएको छ, जनवरीबाट माथिल्लो पुल सञ्चालन गर्ने योजना छ,” उनले भने ।

आयोजनाले सेती नदीमा १९० मिटरका दुई लेनका दुई पुल बनाएपछि पुरानोसहित त्यहाँ तीन पुल हुनेछन् । रसुवा कन्स्ट्रक्सन कम्पनी प्रालिले एक अर्ब सात करोड २४ लाख रुपियाँमा पुल निर्माण गरिरहेको छ । २०२५ डिसेम्बर ६ सम्म सक्नुपर्ने पुलको भौतिक प्रगति ७० प्रतिशत पुगेको छ ।

प्रकाशित मिति : २०८३ कार्तिक १२ गते, बुधबार