गठबन्धन प्रशिक्षण कार्यक्रम सुर्खेतमा सम्पन्न, उम्मेदवारी फिर्ता लिए संवैधानिक नियुक्ती दिने आश्वासन 

जनता संवाददाता
२०७९ कार्तिक ७ गते, सोमबार

सुर्खेत । सत्तारुढ गठबन्धन दलको चुनावी प्रशिक्षण कार्यक्रम वीरेन्द्रनगरमा सम्पन्न भएको छ । आईतवार वीरेन्द्रनगरमा भएको प्रशिक्षण कार्यक्रममा गठबन्धन दलका शिर्ष नेताहरुले सम्बोधन गरेका थिए । ‘संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन’ नारा दिएर गठबन्धनले चुनावी प्रशिक्षण गरेको हो ।

प्रशिक्षण कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवाले गठबन्धन विरुद्ध बागी उम्मेदवारी दिएका उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता लिन अनुरोध गरेका छन । कर्णालीको विकास र समृद्धिका लागि सरकार लागिरहेको बताउँदै देउवाले आगामी पाँच वर्षमा नतिजा ल्याउने गरि गठबन्धन सरकारले काम गर्ने बताए । बागी उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको खण्डमा विभिन्न स्थानमा संवैधानीक नियुक्ती दिई व्यवस्थापन गरिने उनले आश्वासन समेत दिएका छन् । उक्त कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौड्यालले कर्णालीमा कांग्रेसका नेता तथा कार्यकर्तालाई हँसिया हथौडामा भोट हाल्न आनाकानी गर्न नहुने बताए । साथै पौड्यालले उक्त कार्यक्रममा कर्णालीमा कांग्रेसका नेता तथा कार्यकर्तालाई हँसिया हथौडाबाट नतर्सिन समेत आग्रह गरेका छन् । उनले गिरजाप्रसाद कोईराला देखिको अभियान लिएर अगाडी बढेको बताउदैँ यतीबेलाको समयमा लोकतन्त्रको रक्षाको अभ्यासमा गठबन्धन दल रहेको बताए ।

यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले स्थानिय तहको निर्वाचनमा भएका कमिकमजोरीलाई सुदृढ गर्दै गएको अवस्थामा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धन बहुमतले विजयी हुने भएको बताएका छन । यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावी अभियानमा एकताबद्ध भएर परिचालित हुन गठबन्धन दलका नेता तथा कार्यकर्तालाई निर्देशन दिए । अधिकांस समय एमाले अध्यक्ष केपि शर्मा वलीको विरोधमा खर्चिएका नेपालले वलीका कारण संविधान खतरामा परेको कारण पाँच दलिय गठबन्धनको निर्माण भएको बताए ।

प्रकाशित मिति : २०७९ कार्तिक ७ गते, सोमबार


Scroll to Top

Janata Media