
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावल पदमुक्त भएका छन् । उनले आफूलाई प्रदेशसभाको विश्वास छ भनेर राखेको प्रस्ताव नै प्रदेशसभाले बहुमतले अस्वीकृत गरेको हो ।
मुख्यमन्त्ती नियुक्त भएको ३० दिनभित्र संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत पाउन नसकेर उनी पदमुक्त भएका हुन्।
उनलाई मुख्यमन्त्री हुन आवश्यक समर्थन दिएको नागरिक उन्मुक्ति पार्टीका ७ जना सांसद विश्वासको मत दिन काठमाडौंबाट धनगढी आएनन्।
रावलले माघ २५ गते दिउँसो १ बजे विश्वासको मत लिने भनेर सभामुखलाई संसद बैठक बोलाउन पत्राचार गरेका थिए।
काठमाडौं गएका नागरिक उन्मुक्ति पार्टीका सांसद धनगढी नफर्किएपछि बैठक आजलाई सारिएको थियो।
आज पनि दिउँसो १ बजेका लागि बोलाइएको बैठक ४ बजेका लागि सारिएको थियो।
निर्धारित समयभन्दा केही ढिलो गरी बसेको आजको बैठकमा नागरिक उन्मुक्ति पार्टीका सांसद अनुपस्थित भएपछि रावलले विश्वासको मत पाउने सम्भावना सकिएको थियो।
गत पुस २७ गते बेलुका ५ बजे एमालेका संसदीय दलका नेता रावल माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका १ सहित २९ जना प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
उनले पुस २८ गते मुख्यमन्त्रीको सपथ लिएका थिए।
सोही दिन माओवादीका संसदीय दलका नेता खगराज भट्ट र एमालेकी सन्तोष थापा मन्त्री नियुक्त भएका थिए। एक महिनासम्म पनि रावलले सरकार विस्तार गर्न सकेका थिएनन् भने मन्त्रीहरूलाई जिम्मेवारी पनि तोक्न सकेका थिएनन्।
सभामुख र उपसभामुख चयनका लागि भने नागरिक उन्मुक्ति पार्टीले सत्तारूढ गठबन्धनका उम्मेदवारलाई मत दिएको थियो।
रावल नेतृत्वको सरकार ढलेसँगै अब संविधानको धारा १६८ को ३ अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको नेतृत्वमा सरकार बन्ने ढोका खुलेको छ। ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा १९ सिटसहित नेपाली कांग्रेस सबैभन्दा ठूलो दल हो।