काठमाडौँ । कीर्तिपुरमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा पपुवा न्यूगिनी (पीएनजी) ले युनाइटेड अरब इमिरेट्स (यूएई) लाई ५६ रनले पराजित गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा २ सय ४७ रनको लक्ष्य पछ्याएको यूएईले ४२ ओभर २ बलमा सबै विकेट गुमाउँदै १ ९० रनमात्र जोड्न सक्यो । यूएईका लागि आर्यन लकराले ५१ तथा कप्तान मुहम्मद वासिमले ४१ रन बनाए ।
पीएनजीका लागि रिले हेकुरुले ३ तथा काबुआ मोरिआ र असाद भालाले २-२ विकेट हात पारे । सेमो कामिया र नरमन भानुआ १-१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २४६ रन जोड्यो । पीएनजीका लागि सेसे बाउले सर्वाधिक ८१ रन बनाए । हिरी हिरीले ७७ रन तथा किपलिन डोरिगाले ५५ रनको योगदान गरे ।
यूएईका लागि आयान अफजल खानले ३ तथा जाहुर खान र जुनैद सिद्दिकीले २-२, रोहन मुस्तफा र कार्थिक मयप्पनले १-१ विकेट लिए ।