काठमाडौँ । बिहीबार देशभरका तागाधारीले नव यज्ञोपवित (जनै) धारण गरेर जनैपूर्णिमा (ऋषि तर्पणी) मनाउँदै छन् । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्ने र गुरु पुरोहितबाट नयाँ जनै र हातमा रक्षाबन्धन बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको जनै धारण गर्नका लागि अघिल्लो दिन केश मुण्डन गरी एक छाक मात्र शुद्ध भोजन गरेर बस्ने परम्परा पनि रहेको छ । यसरी जनै र रक्षाबन्धन धारण गरेमा नकारात्मक तìवबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।
दिक गुरु परम्परा अनुसार यज्ञोपवित अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोसमेत भनिन्छ । रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर अन्य मठमन्दिर तथा नदीको किनारमा भक्तजनको भिड लाग्ने गर्छ । पाटनको कुम्भेश्वरमा यस दिन विशेष मेला लाग्ने गर्छ ।
जनैपूर्णिमाका दिन क्वाँटी खाने चलन समाजमा रहेको छ । यस दिन खाइने क्वाँटी बनाउन विभिन्न किसिमका गेडागुडी मिसाई एकादशीकै दिन भिजाउने चलन रहेको छ । टुसा उम्रिएको क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने आयुर्वेदिक मान्यता रहेको छ ।
यस वर्ष तिथि घटबढका कारण बुधबार वा बिहीबार कुन दिन जनै धारण गर्ने भन्ने अन्योल पनि समाजमा रहेको छ । कतिपयले बुधबार नै नयाँ जनै धारण गरेका छन् । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले एक विज्ञप्ति जारी गर्दै भदौ १४ गते नै ऋषितर्पणी, रक्षाबन्धन र गाईजात्रा पर्व मनाउन मिल्ने स्पष्ट पारेको छ । १३ गते पूर्णिमासँगै भद्रा पनि रहेको र त्यो रातको नौ बजेसम्म नै रहने भएकाले १४ गते नै जनै धारण गर्नु उपयुक्त हुने जनाएको छ ।
आजै मनाइँदै गाईजात्रा
काठमाडौँ उपत्यका र अन्य विभिन्न स्थानमा मनाउँदै आएको सांस्कृतिक पर्व गाईजात्रा पनि यस वर्ष बिहीबार नै परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यद्यपि भक्तपुरमा भने बुधबार नै जनै पूर्णिमा र गाईजात्रा मनाइएको छ । यो वर्ष गाईजात्रा र जनैपूर्णिमा एकैदिन परेपछि यहाँ अघिल्लो दिन नै जनैपूर्णिमा मनाइएको हो ।
गाईजात्रा र जनैपूर्णिमा एकै दिन परेकाले अन्योल उत्पन्न भएको भन्दै भक्तपुर नगरपालिकाले तलेजुका पुजारीहरूसँग छलफल गरेर आजै जनैपूर्णिमा मनाएको हो । भक्तपुरमा तिथिमितिमा अन्योल उत्पन्न भए तलेजुमा जुन दिन चाडपर्व मनाइन्छ । सोही दिन सर्वसाधारणले पनि मनाउने प्रचलन छ ।
मल्लकालीन समयमा काठमाडौँमा राजा प्रताप मल्लले यो जात्रा चलाउन लगाएको इतिहासमा उल्लेख पाइन्छ । पुत्र वियोगमा परेकी रानीको मन बुझाउनका लागि राजाले सहरमा वर्ष दिनभित्र निधन भएका व्यक्तिहरूको परिवारबाट जात्रा निकाल्न लगाएको इतिहासमा उल्लेख गरेको पाइन्छ ।
विशेष गरी नेवार समुदायले यो पर्व मनाउने गरे पनि काठमाडौँ उपत्यका वरपरका गाउँबस्तीले पनि आफ्ना दिवङ्गत आत्माको शान्तिका लागि भन्दै घर घरबाट गाई वा गाईका बाच्छाबाच्छीलाई नजिकको मन्दिर परिव्रmमा गराउने, केटाकेटीलाई विभिन्न रूपमा सिँगारेर हिँडाउने चलन पनि रहेको छ । नेवारी भाषामा यो पर्वलाई सापारू भनिन्छ । ‘सा’ को अर्थ गाई र ‘पारू’ को अर्थ प्रतिपदा तिथि हो जुन दिन यो चाड मनाइन्छ । विशेष गरी भक्तपुरमा यो पर्व आठ दिनसम्म मनाइने गरेको पाइन्छ । यो पर्वमा विभिन्न डबली तथा चोकमा प्रहसन, नाटक र मार्मिक कथाहरूमा प्रस्तुति दिने परम्परा रहेको छ । विगतदेखि नै गाईजाात्राको दिन सरकार वा उच्चपदस्त व्यक्तिहरूलाई व्यङ्ग गरेर प्रहसन गर्ने चलन रहेको छ । यस्तो परम्परा भने अहिले विभिन्न स्टेज र मिडियामार्फत हुन थालेको छ ।
राखी पनि आजै
नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई दीर्घायुको कामना गर्दै राखी बाँधिदिने चलन रहेको छ । यसबाट दिदीबहिनी र दाजुभाइका बिचमा प्रेमसम्बन्ध प्रगाढ हुने विश्वास समाजमा रहेको छ । राखी बाँधेपछि दाजुभाइले दिदीबहिनीलाई दक्षिणा र विभिन्न उपहार दिने गर्दछन् ।