काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले सुरु गरेको भ्रष्टाचारबिरुद्धको अभियान नरोकिने बताएका छन् ।
बिहीबार रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका –६ मा आयोजित सहिद स्मृति खेलकुद तथा साँस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै उनले सुशासनको अभियान निरन्तर जारी रहने बताएका हुन् ।
कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सरकारमा आएदेखि नयाँ काम सुरु गरेको र सुशासन नचाहने तत्वहरु छट्पटाएको दावी गरे । आफ्नो नेतृत्वको सरकारले भ्रष्टाचारबिरुद्धका फाइल खोलेर जनतालाई सुशासनको अनुभूति दिलाएको उनको भनाइ छ ।
उनले मिटरव्याज पीडितहरुको पक्षका कानुन बनाएको, अवैध रुपमा हुने सुन तस्करीबिरुद्ध कारबाही प्रक्रिया सुरु गरेको, ललिता निवास प्रकरणको छानबिन सुरु गरेको, भुटानी शरणार्थी, भूमाफिया र तस्करीबिरुद्ध वर्तमान सरकारले सशक्त कारबाही सुरु गरेपछि बिपक्षिहरु बिक्षिप्त बनेको चर्चा गरे ।
प्रधानमन्त्री प्रचण्डले भने, “अहिले हामीले राष्ट्रिय स्वतन्त्रतालाई उच्च प्राथमकितामा राखेर कुटनैतिक सम्बन्ध बिस्तार गरेका छौं, सरकारको लोकप्रियता देखेर बिपक्षीहरुले सरकार ढाल्ने षड्यन्त्र सुरु गरेका छन् ।”
सम्बोधनका क्रममा उनले संयुक्त राष्ट्रसंघका महासचिव र कतारका राजा नेपाल भ्रमणका आउनलागेको जानकारी दिए । यस कामले जलवायु परिवर्तनको पक्षमा काम गर्न र नेपालमा रोजगारीको वातावरणका लागि लगानी जुटाउन सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे ।
कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सरकार कमजोर हुँदा देश र परिवर्तन खतरामा पर्ने भएकाले गठबन्धन थप बलियो हुन आवश्यक रहेको उल्लेख गरे । “पाँच बर्ष गठबन्धनको सरकार चल्छ” उनले भने, “वर्तमान सरकारलाई कसैले पनि हल्लाउन सक्ने छैन ।”
सरकार कमजोर भएमा सामन्तीहरु सल्बलाउने, धार्मिक तथा साम्प्रदायिक हिंंसा फैलाउन खोज्ने भएकाले प्रतिगामीहरुले फैलाउने भ्रम चिर्नलाई गठबन्धनको सरकार आवश्यक रहेको प्रधानमन्त्रीले बताए । सामाजिक न्याय, सुशासन र समृद्धिका लागि गठन्धवनको सरकार आवश्यक रहेको उनको भनाइ छ ।
माओवादी पार्टीको बिशेष रुपान्तरण अभियानको क्रममा रुकुम आएको बताउँँदै उनले आफूलाई बाँफिकोट गाउँपालिका वडा ६ र ७ को इन्चार्जको जिम्मेवारी प्राप्त भएको समेत उनले जानकारी दिए । कार्यक्रममा उनले जनताको आँशु र हाँसोमा एकाकार हुन रुपान्तरण अभियान चलाएको जनाए ।







