कर्ण बहादुर मल्लको प्रोफाइल || Karna Bahadur Malla’s Profile

जनता संवाददाता
२०८१ आश्विन ११ गते, शुक्रबार

कर्ण बहादुर मल्ल, मुगुको सोरु गाउँपालिका वडा नं १० धैनकोटमा जन्मिएका हुन् । २३ वर्षको कलिलो उमेरमा साविकको सोरु गाविसको अध्यक्ष निर्वाचित भईसकेका मल्ल अहिले नेकपा एमाले कर्णाली प्रदेश कमिटी सदस्य समेत छन् । गएको २०७९ मा भएको संघ र प्रदेशको चुनावमा मुगु क्षेत्र नं २ एमालेका तर्फबाट प्रदेश सभामा उम्मेद्धारी दिएका मल्ल गठबन्धनका बावजुत पनि झिनो मतान्तरले पराजित हुन पुगे । उनै मल्लको जीवनको वास्तविक व्यक्तिगत प्रोफाइल तल प्रस्तुत छ ।

परिचयः
बुवा नन्द बहादुर मल्ल र आमा पदमकला मल्लको कोखबाट दुई छोरा र दुई छोरीमध्ये पहिलो सन्तानका रुपमा २०३०।१२।१२ गते मुगुको सोरु गाउँपालिका वडा नं १० धैनकोटमा जन्मिएका मल्ल गोरखा सुप्रिम सेक्युरिटी कम्पनीको प्रबन्ध निर्देशक समेत हुन् । २०५४ सालमा नै साविको मुगुको सोरु गाविसको अध्यक्ष भईसकेका उनी अहिले नेकपा एमालेको कर्णाली प्रदेश कमिटी सदस्य र सोरु गाउँ कमिटी इन्चार्ज पनि छन् ।

इतिहासः
मध्यम परिवारमा जन्मिएका मल्लका बुवा दुईपटकसम्म प्रधान पञ्च भईसकेकाले पनि उनको पहिलेदेखि नै राजनितीमा चासो बढ्दै गयो । व्यावहारिक रुपमा कठिनाई भोग्न नपरेपनि उनले द्धन्द्धकालका बेला थुप्रै यातना भोग्नु परेको छ ।

बाल्यकालः
गाउँघरको चलन अनुसार विद्यार्थीले पढ्ने घरायसी काम पनि गर्नुपर्ने भएकाले उनले पढाईसँगै घरायसी काम पनि गर्नुपर्यो । निकै अभाव र कठिनाईको समाजमा हुर्किएका मल्लको बाल्यकाल सामान्य अरुको जस्तै बित्यो । यसको अलवा त्यो समाजको मध्यम र सम्पन्न परिवारका जन्मिएका कारण पनि उनले पढ्ने मौका पाए ।

शिक्षाः
गाउँमै रहेको बाम्नीमाँडु विद्यालयबाट प्राथमिक शिक्षाको सुरुवात गरेका मल्ल माध्यामिक शिक्षा भने सोही ठाउँकै जगत्माला माध्यामिक विद्यालयबाट गरे । २०४९ सालमा जगतमाला माध्यामिक विद्यालयबाटै एसएलसी पास गरेका मल्लले त्यतिबेला जिल्लामा क्याम्पस पनि नभएका र उनी आफैँ पनि राजनितीमा होमिएका कारण उच्च शिक्षा भने हासिल गर्न सकेनन् । पढ्ने चाहना हुँदाहुँदै पनि व्यवहारिक कठिनाई र द्धन्द्धकालको राजनितीले गर्दा उनले माध्यामिक शिक्षाभन्दा बढी पढ्न सकेनन् ।

सोच र योजनाः
विद्यार्थी कालदेखि नै राजनितीमा होमिएका मल्लका जीवनमा थुप्रै उतारचढाव देखिन्छन् । यसकारण पनि उनको विशेषगरी देशको मुल निती राजनितीकै माध्यमबाट समाजको सेवा गर्ने दृढ अठोट छ । गाउँमा सामन्ती सोच भएका व्यक्तिलाई परास्त गछौँ भन्ने उद्येश्यका साथ राजनितीमा होमिएको बताउने उनले यो उपलब्धी लगभग हासिल गरेका छन् । उनी घरबाट निस्किसकेपछि घरको कुनैपनि खर्च नगरेर आफैँमा आत्मनिर्भर हुन्छु भनेर लागेकोमा त्यो अहिले पुरा भएको बताउँछन् । उनी अब आफ्नो जन्मभूमिको लागि र त्यहाँका नागरिकका लागि विकास गर्ने भरपुर ईच्छा भएको बताउँछन् । त्यही अनुरुप राजनितीमा होमिएका छन् ।

सफलताका कथाहरुः
सानै उमेरदेखि राजनितीमा लागेका उनी राजनितीक रुपमा खासै सफल हुन नसकेको र हुने क्रममा भएको बताएपनि व्यक्तिगत रुपमा सफल भएको बताउँछन् । काठमाडौँमा दुईओटा सुविधासम्पन्न घर, मुगुको सदरमुकाममा घर, गाउँमै पक्की घर र कोहरपुरमा घडेरी आफ्नै मेहनतले जोड्नु नै उनको सफलता हो । २३ वर्षको कलिलो उमेरमा २०५४ सालमा गाविस अध्यक्षमा निर्वाचित भएको मुगुको जिल्लाको कान्छो गाविस अध्यक्ष थिए । यो उनको पहिलो राजनितिक सफलता थियो । गत संघ र प्रदेशको निर्वाचन अन्तर्गत मुगु क्षेत्र नं २ अन्तर्गत नेकपा एमालेका तर्फबाट प्रदेश सभा सदस्यका रुपमा चुनावमा होमिनु पनि उनी राजनितीक सफलता मान्छन् । तर उनको उक्त निर्वाचनमा हार बेहोर्नु पर्यो ।

जीवनका चुनौतीः
२०५१ सालको चुनावका क्रममा मुगुको करान क्षेत्रको किम्री गाउँमा त्यहाँका काँग्रेस समर्थकले चक्कु(छुरी) हानेर घाईते बनाएको घटनालाई राष्ट्रिय मानव अधिकारको किताबमा लेखिएको छ । यो घटना उनको जीवनको अविस्मरणीय घटनाकोे रुपमा दर्ज छ । १० वर्षे माओवादी जनयुद्ध पनि उनको जीवनको चुनौतीपूर्ण क्षण हो । एक हिसाबले उनी त्यो समयमा विस्थापित ने हुनु परेको थियो । उनको घरमा भएको धनमाल लुटपाट हुनुका साथै जग्गा जमिन कब्जा गरेर गाउँ समेत छोड्नु परेको थियो । २०५८ सालसम्म बाँकेको कोहलपुरको बसाईसँगै माओवादी २०६३ सालमा शान्ति वार्तामा आएसँगै उनी पुनः गाउँ फर्किए । त्यस लगत्तै उनी राजधानी काठमाडौँ आए ।

राजनैतिक इतिहास तथा उपलब्धीः
बाल्यकालदेखि राजनितीक पृष्ठभूमि भएको परिवारमा जन्मिएका मल्लले पनि सानै उमेरदेखि विद्यार्थी राजनितीमा होमिने अवसर सहजै पाए । तर उनले निकै संघर्ष गर्नुपर्यो । त्यसका बाबजुत २३ वर्षको कलिलो उमेरमा २०५४ सालमा गाविस अध्यक्ष निर्वाचित भएका मल्लले राजनितीक रुपमा विभिन्न खाले उपलब्धी हासिल गरिसकेका छन् । २०६३ सालदेखि राजनितिक रुपमा सक्रिय नदेखिएपनि पार्टीका विभिन्न तहका नेता एवं नेतृत्वसँग नजिक थिए । त्यसपछि २०७९ सालमा भएको संघ र प्रदेशको निर्वाचन अन्तर्गत मुगुको प्रदेश सभा क्षेत्र नं २ नेकपा उमालेका तर्फबाट चुनावमा होमिए । तर गठबन्धनका बाबजुत झिनो मतान्तरले पराजित भए । उनी यसलाई राजनितीक उपलब्धीका रुपमा मान्छन् ।

भविष्यका सपना र लक्ष्यः
बाल्यकालदेखि नै जनताको नजिक भएर उनीहरुका समस्या बुझेका मल्ल राजनितीक रुपमै सक्रिय भएकाले जनताका स साना समस्या समाधान गर्ने उनको दृढ अठोट छ । यसका माध्यमबाट मुगु मात्र नभएर सिङ्गो कर्णालीका सम्भावना राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरसम्म पुगाउने र त्यहाँका जनताका समस्या समाधानको गर्ने सपना छ । यसै अनुरुप काम पनि गरिरहेका छन् । जनताका वास्तविक समस्या बुझेका उनमा सम्भावना धेरै नै देखिन्छ । आर्थिक रुपमा पनि अब्बल भएकाले उनले नेतृत्व गर्ने क्षमता राख्नु स्वभाविक हो । यसकारण पनि उनलाई व्यक्तिगत रुपमा लाभ लिनुपर्ने अवस्था खासै देखिदैँन । उनी विशुद्ध समाजका निमित्त, त्यो ठाउँका लागि काम गर्नेमा विश्वस्त हुन आग्रह गर्छन् । उनको भावी लक्ष्य र योजना पनि यहि नै छ ।

सुझाव:
विकट जिल्ला मुगुमा जन्मिएर काठमाडौँमा सुविधा सम्पन्न दुई ओटा घर बनाउनु आफैँमा एकदमै गाह्रो कुरा हो । यसकारण पनि उनीबाट धेरै जनाले पाठ सिक्नु आवश्यक छ । उनी काम गर्ने बेलामा समयको ख्याल गर्न सुझाव दिन्छन् । कुनै काम गर्दा समयको महत्व बुझ्न सकियो भने मात्र आफुले गरेको काम सहि रुपमा सदुपयोग हुने बताउँछन् । आफुले पनि काम गर्दै जाँदा समयको महत्वलाई बुझेर मात्रै यत्तिको सफल भएको उनी बताउँछन् । सम्पूर्णलाई कुनै पनि काम गर्ने सवालमा सक्रिय भएर लाग्न समयको ख्याल गर्न सुझाव दिन्छन् ।

प्रकाशित मिति : २०८१ आश्विन ११ गते, शुक्रबार


Scroll to Top

Janata Media