दानसाँघुमा बेलिब्रिज पुल निर्माणका लागि सर्भे

जनता संवाददाता
२०८१ मंसिर ४ गते, मंगलवार

काठमाडौं । जिल्लाको पूर्वीउत्तर क्षेत्रमा रहेको बुढीनन्दा नगरपालिकाको दानसाँघुमा बेलिब्रिज पुल निर्माणका लागि सर्भे गरिएको छ ।

मार्तडीदेखि कोल्टी सडक सूचारु भएको झण्डै दश वर्ष भए पनि दानसाँघु खोलामा पक्की पुल निर्माण नहुँदा यहाँ चल्ले सवारी साधानलाई हिउँद वर्खा त्यो खोला वारपार गर्न निकै सास्ती खेप्दै आउनु परेको छ ।

सडक डिभिजन कार्यालय अछामले यी बेला बडिमालिका नगरपालिकाको जडाङ्गामा रहेको बेलिब्रिज पुललाई त्यहाँ राख्ने गरी दानसाँघु खोलामा वलिव्रिज पुलको सर्भे गरिएको हो ।

हिउँदको महिनामा चिसोले खोला तर्न नसकिने र वर्खाको समय पानीको बहाव बढ्दै जाने गरेकाले यहाँ सवारी साधानलाई खोला वारपार गर्न निकै समस्या हुने गरेको जिप चालक पदम बडुवालले बताए ।

उनले भने, “हिउँदमा मार्तडीदेखि कोल्टीसम्मको बाटो नबिग्रीने नभएकाले गाडी चलिरहन्छन् । तर दानसाँघु खोलामा भने पक्की पुल नभएका कारण यहाँ हिउँद र वर्खामा खोला तर्न निकै समस्या हुने गर्छ ।”

अहिले खोलामा बेलिब्रिज पुल निर्माण गर्ने गरी पुलको सर्भे भएपछि बुढीनन्दा नगरपालिकाको कोल्टी, हिमाली, जगनाथ र स्वामिकार्तिकका खापर गाउँपालिकाका व्यापारीहरुलाई सामान ढुवानी गर्न निकै सहज हुने बडुवालले बताए ।

२०७२ सालदेखि हिउँदको महिना यो सडकमा गाडी चल्न थालेपछि जिल्लाको पूर्वी उत्तर क्षेत्रका स्थानीयलाई दैनिक उपभोगयका सामग्री ढुवानीमा निकै सहज भएको थियोे ।

अछामको साँफेबगर तथा मार्तडीबाट भेडा र खच्चरको भरमा खाद्यान ढुवानी गर्दै आएका यहाँका स्थानीयलाई मार्तडी कोल्टी कच्ची सडकले निकै सहज गरेको भए पनि दानसाँघु खोलामा पक्की पुल नहुँदा वर्खाको समय समस्या हुने गरेको छ ।

हिउँदको समय बस, ट्रक, जिप र ट्क्याटर मार्तडीदेखि कोल्टी सुचारु हुँदै आए पनि वर्खामा भने ती सबै सवारी साधान दानसाँघु खोला वारी नै रोकिने गरेपछि यहाँका स्थानीयलाई वर्खाको समय दैनिक उपभोग्य सामग्री ढुवानी गर्न निकै समस्या हुने हो ।

वर्खाको समय यहाँका व्यापारीले भरियाद्वारा सामान ढुवानी गराउने हुँदा स्थानीयलाई चर्को मूल्यमा सामान खरिद गर्नुपर्ने बाध्यता हुन्छ ।

नौ वटै स्थानीय तह तथा विभिन्न सरोकारवाला निकायहरुलाई जडाङ्गामा रहेको बेलिब्रिजलाई दानसाघुमा लिने सहमति भएपछि अहिले खोलामा पुल निर्माणका लागि सर्भे भएको बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक बोहराले बताए ।

मार्तडी कोल्टी सडकअन्तर्गत पर्ने दानसाँघु खोलामा बेलिब्रिज पुल निर्माणका लागि सर्भे भएको सडक डिभिजन कार्यालय अछामका प्रमुख नेत्र देवकोटाले बताए ।

उनले भने, “यता बडिमालिका नगरपालिकाको जडाङ्गा खोलामा स्टक रहेको बेलीब्रिजलाई दानसाँघुमा खोलामा राख्ने गरी गत सोमबार त्यहाँ सर्भे गरेको छ ।”

जडाङ्गा खोलादेखि दानसाँघु लिएर तयार गर्नका लागि झण्डै दुइ करोड रुपिँया लाग्ने भएकाले स्टिमेट तयार गरी सङ्घीय सरकारलाई पठाउने र उताबाट रकम आएपछि यो आर्थिक वर्ष भित्रमा नै दानसाँघु खोलामा बेलिब्रिज पुल निर्माणको कार्य सम्पन्न गर्ने देवकोटाले बताए ।

प्रकाशित मिति : २०८१ मंसिर ४ गते, मंगलवार


Scroll to Top

Janata Media