युक्रेन शान्तिका लागि पुटिन-ट्रम्पको पहल कति प्रभावकारी ?

जनता संवाददाता
२०८२ श्रावण २४ गते, शनिबार

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच आउँदो शुक्रबार (अगस्त १५ गते) अमेरिकाको अलास्का राज्यमा भेटवार्ता हुने तय भएको छ । यो भेटवार्ताको उद्देश्य सन् २०२२ को फेब्रुअरीमा सुरु भएको युक्रेन युद्ध अन्त्य गर्न मार्ग प्रशस्त गरेको हो ।

राष्ट्रपति ट्रम्पले दोस्रो कार्यकाल सुरु गरेदेखि नै आफूले ‘२४ घण्टामै युद्ध सकाउने’ दाबी गर्दै शान्ति स्थापनाको पहल गरिरहेका छन्, यद्यपि हालसम्म भएका थुप्रै वार्ता, टेलिफोन संवाद तथा कूटनीतिक भ्रमणहरूले ठोस प्रगति भने गर्न सकेका छैनन् । शुक्रबार राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसल मा बैठक अगस्त १५ गते अलास्कामा हुने घोषणा गरे, जुन कुरा क्रेमलिनले पनि पुष्टि गरेका छन् ।

क्रेमलिनका अनुसार यो स्थान ‘तार्किक र उपयुक्त’ रहेको छ । राष्ट्रपति ट्रम्पले पुटिन र युक्रेनी राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीको सन्दर्भमा भने, “उनीहरूले मसँग भेट गर्न चाहन्छन् भने म हत्या रोक्न सक्ने जुनसुकै प्रयास गर्न तयार छु ।” व्हाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, “केही भूभाग साटासाट गरिने छ, जसबाट दुबै देशलाई लाभ हुनेछ,” तर उनले विस्तृत विवरण दिएनन् ।

अलास्का बैठक स्थलको रूपमा चयन हुनुको मुख्य कारण ऐतिहासिक र भौगोलिक दुवै पक्षसँग सम्बन्धित छ । सन् १८६७ मा रसियाले अलास्का अमेरिकालाई बेचेको थियो । भौगोलिक रूपमा पनि अलास्काको पश्चिमी किनारा र रसियाको पूर्वी भागबिच बेरिङ जलसन्धि मात्र पर्दछ ।

क्रेमलिनका सल्लाहकार युरी उशाकोभका अनुसार,“अलास्का र आर्कटिक क्षेत्रमा दुवै मुलुकका आर्थिक हितहरू मिल्दछन् र आपसी सहकार्यका लागि ठुलो सम्भावना देखिन्छ ।” उशाकोभले थप भने,“ मुख्य ध्यान भने युक्रेन सङ्कटको दीर्घकालीन शान्तिपूर्ण समाधानतर्फ केन्द्रित हुने छ । साथै, आगामी बैठक रसियामा आयोजना गर्न राष्ट्रपति ट्रम्पलाई निमन्त्रणा दिइसकेको जानकारी पनि उहाँले दिनुभयो ।”

हालै पुटिनमाथि अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी)ले जारी गरेको पक्राउ आदेशले बैठक स्थल चयनमा केही चुनौती उत्पन्न गरेको थियो, जसकारण संयुक्त अरब इमिरेट्स, टर्की, चीन वा भारतजस्ता देशहरू बैठकका सम्भावित स्थलको रूपमा चर्चा भइरहेका थिए ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले यो शिखर बैठकलाई त्रिपक्षीय बनाउने चाहना व्यक्त गर्दै आएका छन् । उनले बारम्बार पुटिनसँग प्रत्यक्ष भेट नै शान्तिका लागि एक मात्र उपाय भएको बताए । राष्ट्रपति ट्रम्पका विशेष दूत स्टीभ विटकोफले यसै साता पुटिनसँगको वार्तामा त्रिपक्षीय बैठकको प्रस्ताव राख्नुभएको थियो, तर रसियाली पक्षले युक्रेनसँगको प्रत्यक्ष वार्ता केवल वार्ताको अन्तिम चरणमा मात्र सम्भव हुने भनिसकेको छ । ट्रम्पले पत्रकारद्वारा सोधिएको प्रश्नमा, “पुटिनले जेलेन्स्कीलाई भेट्नुपर्छ तरु” भन्नेमा उत्तर दिए, “होइन, अनिवार्य छैन ।”

राष्ट्रपति ट्रम्प र पुटिनबिच अन्तिम पटक भेट २०१९ मा जापानमा आयोजित जी(२० सम्मेलनमा भएको थियो । त्यसअघि २०१८ मा फिनल्यान्डको हेलसिंकीमा दुबै नेताबिच महत्त्वपूर्ण बैठक भएको थियो । पुटिनले अमेरिका भ्रमण गरेर अमेरिकी राष्ट्रपतिको रूपमा ट्रम्पपछि अन्तिमपटक २०१५ मा पूर्वराष्ट्रपति ओबामासँग संयुक्त राष्ट्रसङ्घको महासभामा भेट गरेका थिए ।

शान्ति वार्ताका अनेक प्रयासहरू हुँदाहुँदै पनि अहिले रसिया र युक्रेनबिच ठोस सहमति भएको छैन । युक्रेन युद्ध अन्त्यका लागि पश्चिमी मुलुक, युक्रेन तथा अमेरिकाले तत्काल युद्धविरामको आह्वान गरिरहेका छन्, तर रसियाले यसलाई अस्वीकार गर्दै चार वटा क्षेत्र खाली गर्न, युक्रेनले तटस्थ राष्ट्रको हैसियतमा बस्न, पश्चिमी सैन्य सहायता अस्वीकार गर्न र नेटोमा नजाने प्रतिबद्धता जनाउनुपर्ने शर्त राखेको छ । रासस/एएफपी

प्रकाशित मिति : २०८२ श्रावण २४ गते, शनिबार


Scroll to Top

Janata Media