404 Not Found


nginx
एमाले बैठकमा धारणा राख्ने क्रम तीव्र, आज माइक कट प्रणालीसहितको पालो - Janata Media

एमाले बैठकमा धारणा राख्ने क्रम तीव्र, आज माइक कट प्रणालीसहितको पालो

जनता संवाददाता
२०८२ आश्विन ३० गते, बिहीबार

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक आज दोस्रो दिन पनि जारी छ। बैठक बिहान ८ बजेदेखि सुरु भएको हो।

आजको बैठकमा पनि केन्द्रीय सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत विशेष प्रस्तावमा आफ्ना धारणा तथा सुझावहरू राख्ने क्रम जारी रहनेछ। पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार, हिजोको बैठकमा ५० जना केन्द्रीय सदस्यहरूले आफ्ना विचार व्यक्त गरेका थिए।

आज करिब १०० सदस्यहरूले धारणा राख्ने अनुमान गरिएको छ। यदि सबै सदस्यहरूले धारणा राखे बैठक लम्बिन सक्ने संकेत देखिएको छ। हरेक सदस्यलाई तीन मिनेट समय दिइएको छ, र निर्धारित समय नपुग्दै विचार नसकाएमा माइक स्वचालित रूपमा बन्द हुने व्यवस्था गरिएको छ। सदस्यहरूलाई वर्णानुक्रम अनुसार पालो मिलाइएको छ, जसअनुसार अन्तिमतर्फ (ज्ञ अक्षरबाट सुरु हुने) नाम भएका सदस्यहरूले आज धारणा राख्नेछन्।

हिजोको बैठकमा अध्यक्ष ओलीले मंसिर २७ देखि २९ गतेसम्म पोखरामा पार्टीको ११औँ महाधिवेशन गर्ने प्रस्ताव प्रस्तुत गरेका थिए।

केन्द्रीय सदस्यहरूको धारणा सुनेपछि पदाधिकारीहरूले पनि आफ्नो विचार राख्ने कार्यक्रम रहेको छ। बैठकको अन्त्यमा अध्यक्ष ओलीले प्रस्तुत सुझाव र जिज्ञासाहरूको समष्टिगत रूपमा जवाफ दिने तयारी छ।

प्रकाशित मिति : २०८२ आश्विन ३० गते, बिहीबार