राष्ट्रिय युवा संघ नेपालको महाधिवेशन एउटा सामान्य औपचारिकता मात्रै होइन, यो वर्गीय चेतनाको पुनर्जागरण गर्ने थलो बन्न सक्दछ—यदि हामी नेतृत्व छनोटको प्रक्रियामा केवल अनुहार होइन, विचार र कार्यदृष्टिको गहिरो मूल्यांकन गर्न सक्छौं भने। यही सन्दर्भमा विनय शाहको उम्मेदवारीलाई हेर्दा, हामी केवल एक व्यक्तिको आकांक्षा होइन, एउटा वैकल्पिक राजनीति अभ्यासको सम्भावना देख्न सक्छौं।
हामी माक्र्सवादी विद्यार्थीहरूका लागि राजनीति केवल पदको दौड होइन, समाज रूपान्तरणको औजार हो। यो औजार वैज्ञानिक, जनमुखी र मूल्य–आधारित हुनुपर्छ। विनय शाहले प्रस्तुत गरेका विचारहरू, बोलीहरू र योजनाहरू सत्तालोलुपताको भन्दा पर छन्। उनले भनेका छन्, “म इमान्दारिता, समर्पण, त्याग र सच्चा प्रेमको दास हुन सक्छु, तर पैसाको दास कहिल्यै हुन सक्दिन।” यही भनाइमा मार्क्सवादी राजनीति र विचारको आत्मा भेटिन्छ—जहाँ जीवनको लक्ष्य लाभ होइन, मुक्ति हो।
राजनीतिक नेतृत्वको पुन:परिभाषा
वर्तमान युवा राजनीतिमा नेतृत्व शब्द नै विकृत भइसकेको छ—जहाँ पदको अर्थ हुन्छ विशेषाधिकार, पहुँचको अर्थ हुन्छ ठेक्का, र कार्यकर्ताको अर्थ हुन्छ भिड। यस्तो अवस्थामा विनय शाहको उम्मेदवारी एउटा अपवाद बन्न पुगेको छ। उनले नेतृत्वलाई उत्पादन गर्ने संरचना निर्माणको कुरा उठाएका छन्—जहाँ विचारशील, नीतिगत, अध्ययनशील र आत्मअनुशासित नेता उत्पादन गरिन्छ। यो सोच माक्र्सवादको त्यो पक्षसँग जोडिन्छ जहाँ individual heroism भन्दा collective structure लाई प्रधानता दिइन्छ।
शाहले राष्ट्रिय युवा संघलाई ‘नीति निर्माणको प्रयोगशाला’ बनाउने बताएका छन्—जहाँ विद्यार्थी, मजदुर, किसान, सीपशाली बेरोजगार युवा, महिला र अल्पसंख्यक सबैको आवाज हुनेछ। उनले संघलाई केवल एउटा पार्टीको सहायक संगठन होइन, स्वतन्त्र युवा आन्दोलनको सशक्त अङ्ग बनाउने चाहना व्यक्त गरेका छन्। यस्ता अभिव्यक्तिमा हामीले स्वतन्त्र वर्ग–चेतना जागृत गर्न खोजिएको देख्न सक्छौं।
मार्क्सवादको समसामयिकता र नवसंरचना
विनय शाह माक्र्सवादको केवल उद्धरण होइन, व्याख्या र प्रयोगका पक्षमा छन्। उनी माक्र्सवादी राजनीति केवल मजदुर र किसानको मुद्दामा सीमित हुन नहुने, बरु डिजिटल क्रान्ति, सूचना प्रविधि, कृत्रिम बुद्धिमत्ता, जलवायु संकट, र वैकल्पिक शिक्षाजस्ता समसामयिक प्रश्नहरूमा पनि यसको प्रयोग गर्न सकिने विश्वास राख्छन्।
उनले संघलाई प्रविधिसँग जोड्दै, संगठनलाई कागजी प्रक्रिया होइन, वैज्ञानिक डाटा व्यवस्थापनमा रूपान्तरण गर्ने योजना अघि सारेका छन्। युवा उद्यमशीलता, उत्पादनशील शिक्षा, र सांस्कृतिक पुनर्जागरणका एजेन्डा केवल घोषणापत्रका बुँदाहरू होइनन्, ती वैचारिक लडाइँका औजारहरू हुन्—जहाँ पूँजीको एकल थोपडालाई सामूहिक सिर्जनात्मकताले चुनौती दिन सक्छ।
विचार र चेतनाको पुलमा उभिएको एक नवयुवक
विनय शाहलाई मैले पहिलोपटक सुनेको थिएँ—उनी राष्ट्रिय युवा संघको सुदूरपश्चिम अध्यक्ष भएर बोलिरहेकै बेला। त्यो दिन उनले ‘सांस्कृतिक क्रान्तिको अपरिहार्यता’ को कुरा गरे। त्यो भाषणले मलाई छोयो—किनभने म आफैँ पनि द्वन्द्वात्मक भौतिकवाद र आध्यात्मिक चेतनाबीच पुल बनाएर मात्र हामी साम्यवादतर्फ अगाडि बढ्न सक्छौं भन्ने सोचमा थिएँ। त्यसै क्षण मलाई लाग्यो—यो कुनै साधारण वक्ता होइन, एक आदर्श वैदिक नेतृत्व हो जसले विचारको उज्यालो बोकेको छ।
विनय शाहलाई पछ्याउँदै जाँदा म आफैँ उनको विचारको एक सानो तर गहिरो प्रवाहमा समाहित भएको छु। उहाँको वैचारिक स्पष्टता, वर्गीय दृष्टिकोण र सामाजिक रूपान्तरणप्रतिको इमान्दार प्रतिबद्धता देख्दा लाग्छ—यही हो त्यो नेतृत्व, जसले हामी युवाहरूलाई वैचारिक दिशातर्फ फर्काउँछ।
म माक्र्सवादी विद्यार्थी हुँ, तर केवल किताबी हैन, जीवनको भोगाइबाट उत्पन्न माक्र्सवादमा विश्वास गर्ने। मलाई लाग्छ—विनय शाहजस्ता नेताहरूको उपस्थितिले हामीलाई केवल राजनीतिक हैन, वैचारिक यात्रामा पनि अगाडि बढाउँछ। विचारको राजनीति फेरि पनि सम्भव छ—त्यो विचार जुन हामी सबैको मुक्ति खोज्दछ।
हेमराज जोशी







