पूर्वमुख्यमन्त्री शाहीले गरे लोती खोला बेलिबृजको उद्घाटन, हुम्ला–मुगु औपचारिक रुपमा जोडिए

जनता संवाददाता
२०८२ श्रावण १५ गते, बिहीबार

हुम्ला । हुम्लाको चंखेली गाउँपालिका अन्तर्गत पर्ने लोती खोलाको बेलिबृज साउन १३ गते मंगलबार औपचारिक रुपमा उद्घाटन भएको छ । चङ्खेली गाउँपालिका–२ र ४ को सिमानामा रहेको उक्त पुलको उद्घाटन कर्णाली प्रदेश सरकारका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीको हातबाट मंगलबार औपचारिक रुपमा उद्घाटन गरिएको हो ।

पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले पुल निर्माणबाट क्षतिग्रस्त जमिनमा एक महिनाभित्र घेराबार गर्नका लागि पूर्वाधार विकास कार्यालय निर्देशन दिएका छन् । ‘पुल निर्माण गर्दा क्षति भएको जग्गाको व्यवस्थापन गर्न पूर्वाधार कार्यालयको टिम लाग्नुहोला । हुम्लाको विकासको निमित्त सँधै तत्पर भएर लाग्नेछु । सँर्ध तपाईंअरुको यस्तै साथ पाईराखुँ । तपाईंहरुकै आर्शिवादले फेरी पनि मुख्यमन्त्री भएरै छाड्नेछु ।’ कार्यक्रममा बोल्दै उनले भने ।

चङ्खेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीले लोती बेलिब्रिज सञ्चालनमा आएपछि हुम्ला–मुगु सडक औपचारिक रूपमा राष्ट्रिय सडक सञ्जालमा जोडिएको र यसले मुगु, रारा, लिमि हुँदै कैलाश मानसरोवर सम्मको यात्रा सहज हुने विश्वास व्यक्त गरेका छन् । ‘यसअघि नदीमा पुल नहुँदा तुइनको सहारामा यात्रा गर्नुपर्ने बाध्यता थियो । अब तुइन विस्थापित भएको छ । चंखेलीवासीको विकासको ढोका खोलिएको अनुभूति गरेका छौँ ।’ कार्यक्रममा बोल्दै उनले भने ।

पूर्वाधार विकास कार्यालयका प्रमुख नरेशराज जैसीका अनुसार पाँच महिनामा सम्पन्न भएको ४२ मिटर लम्बाइ, १० मिटर उचाइ र ३.१५ मिटर चौडाइको उक्त बेलिब्रिज निर्माणमा करिब ४ करोड ९८ लाख रुपैयाँ लागत लागेको हो ।

बेलिब्रिज सञ्चालनमा आएपछि चङ्खेली गाउँपालिकालाई हिउँदमा हरेक वर्ष काठेपुल बनाउने बाध्यता हटेको छ । यो सँगै हुम्लीवासीलाई मुगु, जुम्लाहुँदै सुर्खेत/नेपालगन्ज जान/आउन सहज भएको छ । यसले व्यापारमा पनि महत्वपूर्ण सहयोग गर्नेछ ।

प्रकाशित मिति : २०८२ श्रावण १५ गते, बिहीबार


Scroll to Top

Janata Media