महिला टी–२० विश्वकपले नयाँ च्याम्पियन पाउने

जनता संवाददाता
२०८१ कार्तिक ४ गते, आईतवार

काठमाडौं । न्युजिल्यान्ड र दक्षिण अफ्रिकाबिच महिला टी–२० विश्वकपको उपाधि भिडन्त हुने भएको छ । अब आइतबार दुबईमा हुने फाइनलपछि महिला टी–२० विश्वकपमा नयाँ च्याम्पियनको उदय हुने भएको छ ।

न्युजिल्यान्डले शुक्रबार राति वेस्ट इन्डिजलाई आठ रनले हराएर फाइनलमा स्थान बनाएको हो । न्युजिल्यान्ड १४ वर्षपछि टी–२० महिला विश्वकपमा पहिलो पटक फाइनलमा पुग्यो । यसअघि सन् २००९ र २०१० मा न्युजिल्यान्ड फाइनलमा निराश भएको थियो । यसअघि दक्षिण अफ्रिकाले पहिलो सेमिफाइनलमा उपाधि दाबेदार अस्ट्रेलियालाई सहजै आठ विकेटले हराएको थियो । छ पटकको विजेता अस्ट्रेलिया लगातार चौथो पटक टी–२० महिला विश्वकप जित्ने दाउमा थियो ।

सन् २०१६ को च्याम्पियन वेस्ट इन्डिजलाई अर्को फाइनल खेल्न अन्तिम ओभरमा १५ रन बनाउनु जरुरी थियो तर सुजी बेट्सले सो ओभरमा मात्र छ रन खर्ची एक विकेट लिएर न्युजिल्यान्डलाई उपाधि भिडन्तमा पुर्याए । न्युजिल्यान्डको जितमा अन्य बलर इडेन कार्सन ९३–२९० र एमेलिया कर ९२–१४० को पनि भूमिका रह्यो ।

पहिले ब्याटिङ गरी न्युजिल्यान्डले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा १२८ रनको चुनौतीपूर्ण स्कोर तयार पारेको थियो । वेस्ट इन्डिजले आठ विकेटको क्षतिमा १२० रन मात्र बनाउन सक्यो ।

न्युजिल्यान्डको पालिमा बेट्सले प्रारम्भिक ब्याटरको भूमिका निर्वाह गर्दे २८ बलमा २६ रनको उपयोगी पालि खेलेका थिए । उनले पहिलो विकेटका लागि जर्जिया प्लिमरसँग मिलेर ४८ रनको साझेदारी निर्वाह गरेका हुन् । प्लिमरले सर्वाधिक ३३ रन बनाए । प्लिमरको पालिमा एक छक्का र तीन चौका सामेल थियो । न्युजिल्यान्डको पालि अन्तिम समयमा बु्रक हालिडेले नौ बलमा १८ र इसाबेला गाजले १४ बलमा अविजित २० रन बनाएपछि राम्रो भएको हो ।

सो खेलमा वेस्ट इन्डिजकी डियान्द्रा डोटिनले पनि अलराउन्ड प्रदर्शन गरे । डोटिनले २२ रनमा चार विकेट लिएपछि ब्याटिङमा पनि उत्कृष्ट प्रदर्शन गर्दै २२ बलमा ३३ रनको आकर्षक पालि खेलेका थिए ।

यसै गरी दक्षिण अफ्रिकाले लगातार दोस्रो पटक फाइनल खेल्ने भएको छ । घरेलु मैदानमा भएको पछिल्लो संस्करणमा दक्षिण अफ्रिका उपाधि भिडन्तमा अस्ट्रेलियासँग निराश बनेको थियो । त्यसैले दक्षिण अप्रिकाका लागि अस्ट्रेलियाविरुद्धको जित बदला पनि भएको छ ।

समूह ‘ए’ विजेता बनेर सेमिफाइनलमा पुगेको अस्ट्रेलियाले पहिले ब्याटिङ गर्दै पाँच विकेटको क्षतिमा १३४ रन बनाएको थियो । एनेके बोस्चले ४८ बलमा अविजित ७४ रनको सम्झनलायक पालि खेलेपछि दक्षिण अफ्रिकाले १७।२ ओभरमै दुई विकेटको क्षतिमा १३५ रन बनाएर लक्ष्य हासिल गर्यो । कप्तान लउरा भोल्भार्टले पनि ३७ बलमा ४२ रनको उपयोगी पालि खेले । यस नतिजासँग अस्ट्रेलियाले महिला विश्वकपमा १५ खेलपछि हारको स्वाद चाखेको छ । सन् २००९ पछि अस्ट्रेलिया महिला विश्वकपमा पहिलो पटक पराजित भएको हो ।

प्रकाशित मिति : २०८१ कार्तिक ४ गते, आईतवार


Scroll to Top

Janata Media