काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न कास्की जिल्ला अदालतले १५ दिन म्याद थप गरेको छ ।
न्यायाधीश भीमलाल बेलबासेको इजलासले रविलाई अझै १५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । यसअघि कात्तिक २५ मा उनलाई १३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो ।
उनीमाथि पोखराको सूर्यदर्शन सहकारीको रकम गोरखा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको आरोपमा कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ ।
कात्तिक २ गते पक्राउ परेका लागिछानेमाथि अनुसन्धान गर्न अदालतले प्रहरीलाई पहिलो पटक ६ दिन, दोस्रो पटक ७ दिन र तेस्रो पटक १० दिनको समय दिएको थियो ।
त्यसबिचमा रुपन्देहीमा पक्राउ पुर्जी जारी भएपछि लामिछानेलाई रुपन्देही लगेर बयानसमेत लिइएको थियो ।
रविविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी भएको छ । प्रहरीले लामिछानेसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी भएकोमा पूर्व डिआइजी छविलाल जोशी र कुमार रम्तेललाई काठमाडौँ ल्याएर बयान लिइसकेको छ ।
छविलाल जोशीलाई शुक्रबार मात्रै कास्की फिर्ता गरिएको थियो । लामिछानेलाई पनि काठमाडौँ ल्याउने तयारी भएको छ ।







